दमाैली । संगै जिउने, संगै मर्ने कसम खाएर प्रेम अनि पछि विवाह गरेका आफ्नै श्रीमानकै हातबाट मर्नुपर्ला भन्ने तनहूँको ब्यास नगरपालिका वडा नं. १२ लामिडाँडाकी २२ बर्षिया रंगिला भुजेलले सपनामा पनि चिताएकी थिइनन् हाेला । खाउँखाउँ र लाउँलाउँको उमेर थियो, मनभरि अनेक सपना थिए । सपना पुरा गर्ने उमेर थियो, साथ र माया दिने आफ्नो मान्छेलाई श्रीमानको रुपमा पाएकी पनि थिइन् ।
तर दुर्भाग्य, जीवनभरि साथ दिने, दुःख सुख बाँडेर संगै जिउने, संगै मर्ने कसम खाएकाे मान्छेकै हातबाट उनले ज्यान गुमाउन बाध्य हुनुपर्याे ।
करीब दुई महिना अघि मात्रै उनको विवाह तनहूँकै भानु नगरपालिका वडा नं. ५ मैबल निवासी मनोज विष्टसंग बिबाह गरेकी थिइन् । विवाहपछि ब्यास नगरपालिकाको वडा नं. ४ मा उनीहरु संगै बस्दै आएका थिए ।
केही महिना अघि मात्र उनीहरुको प्रेम बसेको थियो । फेसबुकमा भेटिएर साथी बनेका उनीहरु साथीबाट प्रेमी भए । विस्तारै प्रेम झ्यांगिदै गयो, दुवैले संगै बाँच्ने, संगै मर्ने बाचाका साथ प्रेमलाई विवाहमा बदल्ने निर्णय गरे । फलतः गएको बैशाख १ गते उनीहरुको विवाह भयो ।
विवाह भएपछि पनि जिन्दगी राम्रै चलिरहेको थियो । तर अचानक के भयो के, दुवैबीच मनमुटाब बढ्दै गयो । अचानक गत जेठ २४ गते उनी हराइन् ।
मंगलबार जेठ ३० गते तनहूँको ब्यास नगरपालिका वडा नं. ४ बाघभन्ज्याङ नजिकै चिहानडाँडामा नराम्रो दुर्गन्ध आयो । त्यहाँको सुवर्णमार्गको कच्ची सडक हुँदै ओहोरदोहोर गर्ने स्थानीयले सिनोको दुर्गन्ध महशुस गरे । उक्त सडकको कुनामा पक्की नालीमा जडान भएको ह्युमपाइपबाट दुर्गन्ध फैलिएको कुरा प्रहरीकहाँ पुग्यो ।
लगत्तै जिल्ला प्रहरी कार्यालय तनहूँबाट डिएसपी मोहनबहादुर खाँणको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ खटियो । प्रहरीले त्यहा पुगेर दुर्गन्ध आएको स्थानमा खोजतलास गर्दा ह्युमपाइप भित्र प्लाष्टिकको बोरा भेटियो । बोराभित्र कुहिएको अवस्थामा एक महिलाको बेबारिसे शब फेला पर्यो ।
प्रहरी टोलीले स्थानीय बासीन्दा र जनप्रतिनिधिसमेतको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी शबलाई पोष्टमार्टमका लागि दमौली अस्प्ताल पठायो र घटनाको अनुसन्धान अघि बढायो ।
सोही दिन बिहान रंगिलाका बुबा मोहनबहादुर भुजेलले छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । छोरी जेठ २४ गतेदेखि हराएको भन्दै उनले हुलिया र फोटो प्रहरीलाई दिएका थिए । सोही दिन दिउसो मोहनबहादुरले दिएको हुलियासंग मिल्ने शब भेटिएपछि प्रहरीले मोहनबहादुरलाई बोलाएर शब देखायो ।
मोहनबहादुरले शबमा रहेको कपडा, शारिरीक बनावट हातमा लगाएको चुरा, कानमा लगाएको रिंग आदिबाट लास छोरीकै हो भनेर सनाखत गरिदिए ।
त्यसपछि प्रहरीले रंगिलाका श्रीमान्को खोजी शुरु गर्यो । मोहनबहादुरले छोरीको विवाह गत बैशाख १ गते मात्र मैबलका मनोज विष्टसंग भएको र छोरी ज्वाइँसंगै दमौलीमै बस्ने गरेको भन्दै ज्वाइँको विवरणसमेत उपलब्ध गराइदिए । प्रहरीले त्यसकै आधारमा मनोज विष्टको खोजी शुरु गर्यो । मंगलबार राती पौने १० बजे तनहूँकै ब्यास नगरपालिका वडा नं. ३ तरकारी लाइनबाट मनोज बिष्टलाई प्रहरीले पक्राउ गरी हिरासतमा लियो ।
प्रहरी हिरासतमा प्रहरीले उनीसंग प्रारम्भिक अनुसन्धान अन्तर्गत सोधपुछ गर्यो । मनोज प्रहरीको प्रारम्भिक सोधपुछमै गले र आफ्नो कर्तुत खाेले । उनले आफूले श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर ह्युमपाइपमा लगेर लुकाएको बयान दिए ।
तनहूँका प्रहरी प्रमुख एसपी प्रहरीसंगको बयानमा मनोजले श्रीमती रंगिलाले आफूलाई खबर नदिइ अर्को सिमकार्ड प्रयोग गर्ने गरेको र त्यसकै कारण केही दिनदेखि दुबैबीच झगडा हुने गरेको र झगडाकैबीच जेठ २६ गते आफ्नै कोठामा श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले पक्राउ परेका मनोज बिष्टलाई जिल्ला अदालत तनहूँबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान अघि बढाएको छ ।