आत्महत्या न्यूनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले कार्ययोजना बनाउनुपर्नेमा जाेड

बेसीशहर । आत्महत्याका अधिकांश घटनाहरु मानसिक स्वास्थ्य समस्याका कारण हुने भए पनि मानसिक स्वास्थ्य समस्याको उपचार र मनोपरामर्श सेवा सबैको पहुँचमा नहुँदा आत्महत्याका घटनाहरु बढदै गएको लमजुङमा आयोजित एक कार्यक्रमका सहभागीले औंल्याएका छन् ।


विश्व आत्महत्या दिवसको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय लमजुङले आयोजना गरेको लमजुङमा आत्महत्याको अवस्था, रोकथाम तथा न्यूनिकरण सम्वन्धी अन्तरक्रियात्मक छलफलका क्रममा सहभागीहरले यस्तो औंल्याएका हुन् । 


ब्यक्तिले आत्महत्या गर्नुको कारण धेरै हुन सक्ने भएपनि मानसिक, आर्थिक र सामाजिक समस्याले धेरैले आत्महत्या गर्ने गरेको पाइएकाले आत्महत्याको न्यूनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले कार्ययोजना बनाउनुपर्ने आवश्यकता कार्यक्रममा औंल्याइएको छ ।


बिशेष गरी आर्थिक र सामाजिक कारणले मानिसमा मानसिक समस्या निम्तिने र याे समस्या बढ्दै जाँदा आत्महत्या सम्म पुग्ने भएकाले  यसतर्फ परिवार, समाज र सराेकारवाला निकायकाे ध्यान जानु पर्ने सहभगीले बताए ।


कार्यक्रमका सहभागीले मानसिक स्वास्थ्य समस्याको उपचार तथा मनोपरामर्श सेवा पाउन सके आत्महत्या न्यूनिकरण हुन सक्ने भन्दै यसका लागि दक्ष मनोबिमर्शकर्ता वा मानसिक रोगका चिकित्सकको ब्यवस्था हुन सके आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने बताए । 


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले लमजुङ जिल्लामा आत्महत्याको अवस्था, आत्महत्या गर्नुका कारण र रोकथामको उपाय वारे जानकारी गराएका थिए । उनले गत आर्थिक बर्षमा लमजुङमा ३९ जनाले आत्महत्या गरेका तथ्याङ्क प्रस्तुत गरे ।


उनले आत्महत्याका अधिकांश घटना मानसिक स्वास्थ्य समस्या सँग जोडिने भएपनि आत्महत्यालाई अपराधको रुपमा लिइने हुदाँ यस्ता घटना हुन नदिन स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्ति, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका संघ सस्था, मिडिया लगायतका सरोकारवाला निकायसँगै छलफल गरिएको बताए ।

कार्यक्रममा प्रनाउ श्रीमलले आर्थिक वर्ष सुरु भएको शुरुको पहिलो महिनामै लमजुङमा चार जनाले आत्हत्या गरिसकेको र अबका दिनमा आत्महत्या न्यूनिकरणका सरोकारवाला सवै निकाय मिलेर अघि वढ्नुपर्नेमा जोड दिए । 


जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख बुनादेवी रिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला अस्पताल लमजुङका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशराज आचार्य, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यम बराल, बेसीशहर नगरपालिका स्वास्थ्या शाखाका प्रमुख मनोजसिंह बोहरा, मनोविमर्शकर्ताहरुको सहभागिता थियो ।


कार्यक्रममा आत्महत्या नियन्त्रण तथा न्यूनिकरणका लागि  जिल्ला समन्वय समितिको संयोजकत्व र सबै स्थानीय निकायको सहभागितामा सचतनामूलक कार्यक्रम गर्ने निणर्य भएको छ ।

प्रतिक्रिया