सहकारी ठगीमा पक्राउ परेका गुरुङ पुर्पक्षका लागि थुनामा, बगालेसंग ८५ लाख धरौटी माग

खबरकुञ्ज

बेसीशहर फागुन १४ गते । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ङादी सेवा केन्द्रबाट ११ करोड २२ लाख रकम अपचलन गरेको अभियोगमा लमजुङ प्रहरीको हिरासतमा रहेका सोही संस्थाको ङादी सेवा केन्द्रका विरेन्द्र गुरुङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सोही अभियोगमा पक्राउ परेकी मस्र्याङदी गाउँपालिका वडा नंं ३ निवासी मधुमाया बगालेसंग अदालतले ८५ लाख रुपैयाँ धरौटी मागेकोमा उक्त धरौटी जम्मा गर्न नसक्दा उनलाई पनि कारागार चलान गरिएको छ । मंगलबार अदालतको आदेश ढिला आएको थियो । धरौटी रकमसमेत धेरै भएकाले उनको परिवारले तत्काल धरौटी रकम जम्मा गर्न नसकेको पछि धरौटी जम्मा भएपछि छाड्ने गरी उनलाई पनि कारागार चलान गरिएको हो ।

बगाले गएको स्थानीय निर्वाचन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भइ मस्र्याङदी गाउँपालिकाको कार्यपालिका सदस्य छन् । उनी नेकपा एमाले मस्र्याङदी गाउँपालिका वडा नम्बर ९ को अध्यक्षसमेत रहेकीमा उनीमाथि मुद्दा दायर भएपछि पार्टीले उनलाई पदबाट निलम्बन गरेको छ ।

सोही अभियोगमा पक्राउ पूर्जी जारी भए पनि मस्र्याङदी गाउँपालिकाकै अनिशा भण्डारी र तुलमाया तामाङ भने फरार छन् । चार जना मिलेर सहकारीमा कृत्रिम ऋणी खडा गरी संगठित रुपमा अपचलन गरेको अभियोग छ । चारमध्ये गुरुङ र बगालेलाई प्रहरीले गत मंसिर १७ गते पक्राउ गरी हिरासतमा लिएको थियो ।


जिल्ला सकारी वकील कार्यालय लमजुङले उनीहरु विरुद्ध जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा ११ करोड २२ लाख विगो माग गर्दै मुद्दा दर्ता गरेको थियो । मंगलबार सोही मुद्दामा भएको  थुनछेक बहसमा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले सेवा केन्द्र प्रमुख गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने र बगालेलाई ८५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश गरेको छ ।

सहकारीको ङादी सेवा केन्द्रबाट ब्यापक घोटला भएको थाह पाएपछि सहकारीको अनुरोधमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानवीनका लागि खटाएको थियो । गौतमको प्रतिवेदनकै आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकील कार्यालयमा रायसहित प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदन अध्ययन पछि सरकारी वकीलको कार्यालयले उनीहरु विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा सजाय मागदावी गर्दै जिल्ला अदालत लमजुङमा मुद्दा अभियोजना गरेको थियो ।

सम्बन्धित खबर

कृत्रिम ऋणी खडा गरी सहकारीकाे ११ कराेड ठगी, कार्यपालिका सदस्यसहित दुइजना पक्राउ

प्रतिक्रिया