परम्परागत सीपको प्रबर्द्धनमा जुट्दै मध्यनेपालकाे जनमन्दिर मावि

खबरकुञ्ज

चिसंकु (लमजुङ) असाेज ७ गते । हिजोआज गाउँमा हुने भोज भतेरमा पनि प्लाष्टिकका प्लेट र चम्चाको प्रयोग बढ्दो छ । भोजभतेरमा मात्र होइन, पूजा आजमा समेत सालका पातको दुना टपरीको ठाउँमा प्लाष्टिक र आल्मुनियम लेपन गरिएका कागजका प्लेटहरुले दुना टपरीको ठाउँ लिइरहेको पाइन्छ । आधुनिकताको नाममा परम्परादेखि चलि आएको सालका पातको टपरी बनाउने चलन हराउनै लागेको छ ।

केही बर्ष अघिसम्म गाउँघरमा हजुरआमा आमाहरुले सालको पातको दुना टपरी बनाइरहँदा नातिनी र छोरीहरु चाख मानेर हेर्थे । आमा हजुर आमाहरुको सिको गर्दै आफू पनि दुना टपरी बनाउन सिक्थे र केहीबेरमै पोख्त हुन्थे पनि । यसैगरि सीप नयाँ पुस्तामा हस्तान्तरण हुन्थ्यो । तर हिजो आज परम्परागत सिपहरु पुस्तान्तरण हुने क्रम रोकिएको छ । घरलाई मानिसको पहिलो पाठशाला भनिन्छ । धेरै कुराहरु मानिसले घर परिवारबाटै सिकेको हुन्छ । तर आधुनिकता र बसाइँ सराई जस्ता बिबिध कारणले पछिल्लो समय यस्ता सिक्ने सिकाउने क्रम घट्दै गइरहेको छ ।

यस्तै परिपे्रक्ष्यमा लमजुङको एक विद्यालयले विद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने जमर्को गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नंं ७ चिसंकुमा रहेको जनमन्दिर मा.वि.ले विद्यालयका छात्रछात्रहरुलाई सालको पातबाट दुना टपरी आदि बनाउने सीप सिकाएर परम्परागत सीपको प्रबर्द्धन गर्न थालेको छ ।


विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबार विद्यालयमा सालको पातका दुना, टपरी, बोहोता आदि बनाउन सिकाएको हो । हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, वत्तृत्वकला, खेलकुद हुने गरेकोमा गत शुक्रबार नगरपालिकाका सबै विद्यालयमा शोक विदा रहेकाले शुक्रबारको कार्यक्रम आइतबार गरिएको थियो । आइतबारको अतिरिक्त क्रियाकलापमा लोपोन्मुख संस्कृतिको जगेर्ना गरी विद्यार्थीहरुलाई ग्रामीण जीवनमा काम लाग्ने तर हराउँदै गरेको दुना टपरी बनाउन सिकाई यसको महत्व र उपयोगका बारेमा जानकारी गराइएको विद्यालयका प्रधानाध्यापक  चन्द्रराज घिमिरेले जानकारी दिए ।


हिजो आज विद्यार्थीलाई पढाउने भन्ने वित्तिकै विद्यार्थीलाई ठूलो झोलामा ठेलीका ठेली किताब र कापी बोकाएर विद्यालय पठाउनु र घोकाउनुलाई मात्र बुझ्ने गरिन्छ । विद्यार्थीलाई किताबी ज्ञान बाहेक जीवनोपयोगी सीप सिकाउनु पनि पढाइ हो भन्ने मान्यता स्थापित गर्न यस्ता अतिरिक्त क्रियाकलापले महत्व राख्ने प्रधानाध्यापक घिमिरेले बताए ।

परम्परागत सीप र संस्कृति लोप हुने अवस्थाबाट जोगाउन र ग्रामीण जीवनमा महत्वपूर्ण रहेका सालको पातको टपरी र दुना लगायतका हस्तकलाका सामग्री बनाउन पनि सिकाउनु विद्यालयको समेत कर्तब्य हुन आउने भएकाले विद्यालयको यस कार्यको प्रशंसा भएको छ ।

प्रधानाध्यापक घिमिरेले भने– “आधुनिकतासँगै भित्रिएका प्रविधिले पुराना तर काम लाग्ने संस्कतिलाई विस्थापित गरिरहेको सन्दर्भमा पठनपाठन संगै ग्रामीण जीवनको आधारका रूपमा रहेको हस्तकलाका सीप सिकाउने कार्य फलदयी भयो । यसबाट विद्यार्थीसंगै शिक्षकहरुले समेत सिक्ने मौका पाए । विद्यार्थीहरु पनि निकै हौसिदै दुना टपरी बनाए, आफूले बनाएका दुना टपरी कस्तो भयो भनेर देखाए ।”


अहिले सोह्र श्राद्ध समेत चलिरहेकाले धेरैका घरमा श्राद्ध पनि चलिरहेको र श्राद्धमा दुना टपरीको आवश्यकता पर्ने भएकाले अतिरिक्त क्रियाकलापमा दुना टपरी बनाउने कार्यक्रम समावेश गरिएको उनले बताए । घरमा नसिकेका तर घरायसी काममै प्रयोग हुने यस्ता जीवनउपयोगी सिपहरु सिक्न पाउँदा जनमन्दिरका विद्यार्थीहरु पनि खुशी थिए । 

यस कामका लागि शिक्षक विद्यार्थी मिलेर जंगलबाट सालको पात ल्याई बाँसबाट सिन्का समेत तयार पारेका थिए । यस क्रममा कक्षा १ देखि १० सम्मकै विद्यार्थी सहभागी भए । कक्षागत रुपमा हरेक कक्षाका विद्यार्थीहरुलाई छुट्टाछुट्टै राखेर दुना टपरी बनाउन सिकाइएको थियो । शिक्षक शिक्षिकहरुले सिन्का बनाउन र सालको पात गाँसेर कसरी दुना टपरी बनाउने भनि सिकाएका थिए । 


अतिरिक्त क्रियाकलापमा कक्षा १० का छात्र संगम भुजेलले समेत सिन्का बनाउन र टपरी गाँस्न सिकाएको देख्दा शिक्षकहरु नै छक्क परे । कक्षा १० की छात्रा प्रियंका गुरुङ, कोपिला विश्वकर्मा, सलिना ढकाल जस्ता थुप्रै विद्यार्थीले दुना टपरी बनाए । उनीहरुसंगै कक्षा ५ मा अध्ययनरत सन्तोष विकले दुना टपरीसंगै सालको पातको टोपी समेत बनाएर लगाउँदै खुशी मनाए । विद्यार्थीसंगै विद्यालयका सहायक प्रअ किरण विश्वकर्माले पनि दुना टपरी बनाउन सिके ।

विद्यार्थीहरुलाई जीवनोपयोगी सीप सिकाउँदै आदर सम्मान गर्न पनि सिकाउने तयारी विद्यालयले गरेको छ । आफू भन्दा ठूला हजुरबा हजुर आमा, बुबा आमा, काका काकी, दाजु भाउजु, दिदी, भिनाजु, फूपु फुपाजुलाई गरिने आदर सम्मान र साना भाइ बहिनीलाई  गर्नुपर्ने माया ममताको पाठसमेत विद्यार्थीहरुलाई सिकाउने आफ्नो सोच रहेको प्रअ घिमिरेले बताए । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकरराज घिमिरेका अनुसार विद्यालयले विद्यार्थीहरुलाई खन्न जोत्न पनि सिकाउने गरेको छ । विद्यालयले लिजमा लिएको २ रोपनी जग्गामा खानजोत गरी तरकारी लगाउन पनि विद्यार्थीलाई सिकाइएको र उत्पादित तरकारी विक्री समेत हुने गरेको उनले जानकारी दिए । विद्यालयमा उत्पादन भएका कांक्रो, घिरौंला, साग, काउली, मुला, भिँडी लगायतका तरकारी बिक्रीबाट भएको आम्दानीले अर्को बर्ष बीउ विजन र मल खरिद गर्ने गरिएको उनले सुनाए ।

अतिरिक्त क्रियाकलापसंगै जनमन्दिर मावि पठन पाठनको सिकाइ उपलब्धीमा पनि अग्रस्थानमै छ । यो विद्यालय हालै राष्ट्रिय शिक्षा दिवसका अवसरमा मध्यनेपाल नगरपालिकाका विद्यालयमध्येमा एसइइमा उत्कृष्ट नतिजा ल्याए बापत पुरस्कृत समेत भएको छ । 

प्रतिक्रिया