बेसीशहरमा थिएटर नाटक प्रतियाेगिता, नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपतिद्वारा मञ्जरीकाे प्रशंसा

बेसीशहर । रंगमञ्चमा बाल प्रतिभाको खोजी अभियान भन्ने नाराका साथ लमजुङको सदरमुकाम बेसीशहरमा थिएटर नाटक प्रतियोगिता आयोजना गरिएको छ । रंगमञ्चमा राष्ट्रियस्तरमै आफ्नो छुट्टै पहिचान बनाउन सफल लमजुङको मञ्जरी नाट्य समूहले जिल्लामा पहिलो पटक अन्तर विद्यालय थिएटर नाटक प्रतियोगिता आयोजना गरेको हो ।

बाल प्रतिभा प्रोत्साहक कार्यक्रम अन्तर्गत मञ्जरीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसंगको सहकार्य र बेसीशहर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रबर्द्धनमा थिएटर नाटक प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितामा बेसीशहर नगरपालिका अन्तर्गतका १० वटा विद्यालयले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा बेसीशहर–११ को जनजाग्रीति आधारभूत विद्यालय प्रथम हुन सफल भएको छ । परिवर्तन शिर्षकको नाटक प्रस्तुत गरेको जनजागृति आधारभूत विद्यालयले पुरस्कारस्वरुप नगद १५ हजार र प्रमाणपत्र पाएको छ । पहिचान शिर्षकमा नाटक प्रस्तुत गरेको विद्या विकास माविले द्वितीय स्थान प्राप्त गरी नगद १२ हजार रुपैया र प्रमाणपत्र पाएको छ । त्यसैगरि अनिवार्य शिक्षा शिर्षकमा नाटक प्रस्तुत गरेको मनकामना अंग्रेजी मा.विले  तृतीय स्थान प्राप्त गर्दै नगद ८ हजार सहित प्रमाण पत्र पुरस्कार पाएको छ ।

प्रतियोगितामा यशोब्रम्ह माविका शिक्षक अरुण बरालले  उत्कृष्ट लेखन पुरस्कार पाए । त्यस्तै उत्कृष्ट निर्देशकका रुपमा न्यू ईरा अंग्रेजी विद्यालयका विनोद रिमालले पुरस्कार जिते ।

पुरस्कार वितरण समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले रंगमञ्च धेरैको रुचि र आकर्षणको विषय भएकोले रंगमञ्चको प्रवद्र्धनका लागि गाउँ गाउँमा पुगेर नयाँ प्रतिभाहरुको खोजी गर्ने अभियान थालेर मञ्जरी नाट्य समूह लमजुङले रंगमञ्चमा नयाँ आयाम थपेको बताइन् ।

मञ्जरी नाट्य समुहका अध्यक्ष केदार बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पुरु लम्साल, बेसीशहर नगरपालिकाको शिक्षा शाखाका प्रमुख किसानराज चिलुवाल लगायत उपस्थित थिए ।

 २०७३ सालमा स्थापना भएका मञ्जरी नाट्य समूहले देशभित्र र बिदेशमा समेत विभिन्न नाटकहरु प्रस्तुत गर्दै प्रशंसा बटुल्दै आएको छ । करीब करिब थला परेको रंगमञ्चलाई केदार बोहराको नेतृत्वका रंगकर्मीहरुहरुले जुरुक्क उचालेका छन् । मञ्जरीले लमजुङका विभिन्न स्थानमा जनचेतनामूलक नाटक प्रस्तुत गर्नुका साथै चेतनामूलक टेलिचलचित्र र म्युजिक भिडियोहरु प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया