बेसीशहर, भदौ १६ । लमजुङकी चर्चित तथा लोकप्रिय गायिका मञ्जु विश्वकर्मा पोखरामा सम्मानित भएकी छन् ।
मञ्जुले गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लमजुङ पोखरा सम्पर्क समिति र विश्वकर्मा समाज नेपालले छुट्टाछुट्टै कार्यक्रमबीच उनलाई शनिबार पोखरामा सम्मान गरेका हुन् ।
लमजुङ पोखरा सम्पर्क समितिले हरितालिका तीज २०८१ के अवसरमा पोखरामा आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष कृष्ण गिरी र कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद धितालले उनलाई दोसल्ला ओढाएर सम्मान पत्र दिई सम्मान गरेका थिए ।
त्यस्तै विश्वकर्मा सेवा समाज नेपालले पनि उनले लोक दोहोरीको क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै २०८० सालको एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान र तीजको दर खुवाउने कार्यक्रमको अवसरमा दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।

लमजुङको बेसीशहर नगरपालिका वडा नं. २ मा २०५० साल भदौ २४ मा जन्मेकी मञ्जु ९ बर्षको उमेरदेखि लोक तथा दोहोरी गीतको क्षेत्रमा लागेकी हुन् । १४ बर्षकै उमेरमा २०६४ सालमा लमजुङ ताराको उपाधि जित्न सफल भएकी मञ्जुले लोक दोहोरीको क्षेत्रमा लागेर थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छन् ।
लोक स्वर सम्राट राजु परियार, पशुपति शर्मा, खेम सेञ्चुरी, चिज गुरुङ जस्ता लोक दोहोरीका हस्तीहरुसंगको सहकार्य गरीसकेकी मञ्जुले आफ्नै विभिन्न १६ वटा एल्बम निकालीसकेकी छन् ।
सानैदेखि लमजुङे ठाडोभाकाको संरक्षणमा लागि परेकी मञ्जु ठाडोभाकाको गायिका पनि हुन् । कलिलै उमेरमा ठाडो भाकाका शिरोमणि स्व. भेडीखर्के साइँलासंग ठाडो भाकाको दोहोरी गाएर देश विदेशबाट प्रशंसा बटुलेकी उनी आाफैले केही समय अघि राजु परियारसंगको सहकार्यमा निकालेको लमजुङे ठाडो भाका गीत युट्युवमा निकै रुचाइएको छ । हालसम्म यो गीतले ११ लाख बढी दर्शकको माया पाइसकेको छ ।
खबरकुञ्ज