पोखरा, चैत २५ गते । गण्डकी प्रदेशमा नेकपा एमालेका नेता खगराज अधिकारी दाेस्राे पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश सभाका स्वतन्त्र सांसद दीपक मनाङे र सभामुखसमेत गरी ३१ जना प्रदेश सभा सदस्यकाे समर्थन रहेकाे भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्टलाइ पत्र बुझाएका अधिकारीलाइ प्रदेश प्रमुख भट्टले संविधानकाे धारा १६८ (२) बमाेजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
काेशी प्रदेशमा सभामुखसमेतकाे समर्थनमा मुख्यमन्त्री बन्न पुगेका कांग्रेस संसदीय दलका नेता केदार कार्की अदालतकाे अादेशले पदमुक्त भएकाे धेरै भएकाे छैन । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले पनि कार्कीकै पदचाप पछ्याउँदै मुख्यमन्त्रीकाे नियुक्ति पाएका हुन् । अधिकारीले नेकपा माओवादी केन्द्रबाट प्रदेश सभाकाे सभामुख बनेका कृष्ण धितालको समर्थन लिएर मुख्यमन्त्री बनेकामा याे सरासर कानुन विपरित रहेकाे कानुनविदहरूले बताएका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रमा गठबन्धन परिवर्तन भएपछि राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते दिउसाे ३ बजेभित्र मुख्यमन्त्रीकाे दाबी पेश गर्न भनेका थिए ।
खगराज अधिकारी नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएर मुख्यमन्त्री बने पनि मुख्यमन्त्री दाबीका लागि सभामुखको प्रयोग गर्नु असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले अदालत जाने बताएकाे छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोशी प्रदेशको नजीर स्मरण गराउँदै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । उनको पत्रमा असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरिए पनि प्रदेश प्रमुखले नटेरेपछि यस बिरूद्ध कांग्रेसले अदालत जाने तयारी गरेकाे हाे ।
प्रदेश प्रमुखले भने मुख्यमन्त्री अधिकारीलाइ केहीबेरमै पद तथा गाेपनियताकाे सपथ खुवाउँदै छन् ।