बेसीशहर, पुस १२ गते । गण्डकी प्रदेशकै प्रतिष्ठित र सर्वाधिक पुरस्कार भएको त्रिवेणी कप फुटबल प्रतियोगिताको ३२ औं संस्करण आजबाट बेसीशहरमा शुरु भएको छ ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले सहजी रंगशालामा केहीबेर अघि प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत आजको उदघाटन खेल त्रिभूवन आर्मी क्लव र लाङदी देवी युवा क्लवबीच भइरहेको छ । खेल शुरु भएको ४० औं मिनेटसम्म दुवै पक्षबाट कुनै गोल हुन सकेको छैन । खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोचक भइरहेको छ ।
प्रतियोगिताको ३१ औं श्रृंखलामा आर्मी क्वार्टरफाइनलमा लालीगुराँस भुजुङसंग पराजित भएको थियो । लाङदीदेवी युवा क्लव सेमीफाइनलमा बेसीशहर युथ सोसाइटीसंग पराजित भएको थियो ।
सहजी रंगशालामा प्रतियोगिताको उदघाटन खेल हेर्न घरेलु दर्शकको भीड लागेको छ । रंगशालाको प्याराफिट भरिभराउ छ । त्रिवेणी कप फुटबल लमजुङमा फुटबलको कुम्भमेला नै मानिन्छ ।
प्रतियोगितामा सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिगको विजेता बनिसकेका मच्छिन्द्र क्लव, एनआरटी र संकटासंगै विभागीय टीमहरु त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव पनि यस बर्ष त्रिवेणी कपमा प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा कूल १६ वटा टीम उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । यस बर्ष पुरस्कार राशीमा बृद्धि गरी प्रथम पुरस्कार १२ लाख पु¥याइएको छ । विजेताले नगद १२ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद ६ लाख ट्रफि, रजत पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सेमीफाइनल पुग्ने दुई टीमले पनि नगद २÷२ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए ।
उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमले ट्रफी र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको गोलनेपाल डटकमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
खबरकुञ्ज