डेंगीकाे संक्रमणबाट समाजसेवी शाहीकाे निधन

बेसीशहर । नेपाली कांग्रेस बेसीशहर नगरपालिका वडा नं ०२ गैरीका कर्मठ समाजसेवी बुद्धिबिक्रम शाहीकाे बुधवार निधन भएकाे छ ।

डेंगीकाे संक्रमण भएपछि उपचारका लागि पाेखरामा गएका शाहीकाे गण्डकी मेडिकल कलेजमा बुधवार बेलुका निधन भएकाे हाे । बेसीशहरकाे वडा नं. २ मा आँखामा राख्दा पनि नबिझाउने समाजसेवीकाे उपमा पाएका शाही ५३ बर्षका थिए । 

शाहीको पार्थिव शरिरलाई बिहीबार विहान मर्स्याङदी नदी किनारमा दाहसंस्कार गरिएको छ । नेपाली काँग्रेस लमजुङका सभापति एवं प्रेदशसभा सदस्य डा. टकराज गुरुङ, प्रेदशसभा सदस्य भेषबहादुर पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरिप्रसाद बराल, नेपाली काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीलगायत नेपाली काँग्रेसका नेताहरुले कांग्रेसको झण्डा ओढाएर उनकाे अन्तिम बिदाइ गरेका थिए ।


एक सातादेखि ज्वरोले थलिएका शाहीकाे जिल्ला अस्पतालमा गरिएकाे परीक्षणमा डेंगी देखिएपछि थप उपचारका लागि पाेखरा लगिएकाे थियाे । 

उनकाे निधनमा बेसीशहरकाे वडा नं. २ का बासीन्दा भावबिह्वल भएका छन् । बेसीशहर वडा नं. २ का वडाध्यक्ष मदन रानाले शाहीकाे निधनमा गहिराे शाेक ब्यक्त गर्दै सामाजिक र राजनीतिक सेवामा इमान्दार, सहयोगी अनुशासित र बफादार व्यक्तित्व शाहीकाे निधनले सिंगाे वडालाइ क्षति पुगेकाे बताएका छन् ।

दिवंगत शाहीकाे श्रीमती, २ छोरा र १ छोरी छन् ।


प्रतिक्रिया