समाजवादीका ५ सय जना एमाले प्रवेश गर्ने हल्ला तुहियाे, १६ जनाले छाेडे समाजवादी

मिलन शर्मा दनाई

बेसीशहर, असोज १ । नेकपा एकीकृत समाजवादीका निवर्तमान केन्द्रीय सदस्यसहित लमजुङका एकदर्जन नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

सोमबार बेसीशहरमा पत्रकार सम्मेलन गरी सो पार्टीका निवर्तमान केन्द्रीय सदस्य डा बालकृष्ण बराललगायतले हिजो एमालेमा विधि पद्धति नभएको भन्दै विद्रोह गरे पनि नेकपा एकीकृत समाजवादीमा झनै विधि पद्धतिको खडेरी लागेको र पार्टी नेतृत्वमा संगठनप्रति सम्बेदना भन्दा गुटगत स्वार्थ हावी भएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

बरालसहित केन्द्रीय सल्लाहकार परिषदका सदस्य लिलाधर सापकोटा, गण्डकी प्रदेश कमिटीका सदस्य वेनबहादुर सुयल, सुरेश गिरी, सूर्यबहादु कुवंर, अमृत गिरी, जिल्ला कमिटीका उपाध्यक्ष सन्तुमाया विक, उपसचिव हरिनिधि तिवारी, जिल्ला कमिटि सदस्यहरु कृष्ण बहादुर केसी , महेन्द्र थापा, मातृका अधिकारी, बासुदेव न्यौपाने, राम तामाङ, विरबहादुर अधिकारी, हरिवहादुर कुँवर र विष्णु विष्टले संयुक्तरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीहरुले नेकपा एसको हालै सम्पन्न महाधिवेशन गैह्रजनवादी, गैह्रप्रजातान्त्रिक रहेको टिप्पणी गरेका छन् । नेताहरुले आ–आफ्नो खल्तीबाट केन्द्रिय कमिटीका सदस्य, पोलिटब्युरो र स्थायी समितीका सदस्यहरु झिकेर सपथ खुवाएको आरोप लगाउँदै उनीहरुले पार्टीमा गुटबन्दी मौलाएको र विचार, सिद्धान्त, विधि, पद्धतिको धज्जी उडाइएका कारण पार्टी छोड्नु परेको बताए ।

पत्रकार सम्मेलनमा निवर्तमान केन्द्रीय सदस्य डा. बालकृष्ण बरालले नेकपा एकीकृत समाजवादी पार्टी भित्र मौलाएको स्वार्थ केन्द्रित गुटगत राजनीतिले पार्टीलाई विधि र पद्धति बाहिर लगेको, नेताहरु गैरजिम्मेवार बनेकाले पार्टीमा रहिरहन उपयुक्त नदेखेर सामुहिक रुपमा पार्टी परित्याग गरेको दावी गरे ।

डा बराल लगायत उक्त पार्टी परित्याग गर्नेहरुले तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने बताएका छन् । उनीहरुले आगामी दिनमा पनि स्वतन्त्र रहने वा अरु कुनै दलमा जाने भन्ने बिषय बिचाराधीन रहेको बताए ।

यस अघि डा बरालसहित नेकपा एकीकृत समाजवादीका ५ सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने भनि बेसीशहरमा बजार हल्ला चलेकोमा पत्रकार सम्मेलनमा जम्मा १६ जनाले पार्टी परित्याग गरेको बताइएको छ ।


प्रतिक्रिया