बेसीशहर, पुस १४ । लमजुङमा फुटबलको कुम्भमेला त्रिवेणीकप फुटबलमा सोमबारसम्म सम्पन्न ५ खेलबाट ५ वटा टीम अन्तिम ८ अर्थात क्वार्टर फाइनलमा पुगेका छन् ।
सोमबारको पहिलो खेलमा सातदोबाटो फुटबल क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै लालीगुराँस युवा क्लव भुजुङ र दोस्रो खेलमा समाजकल्याण काठमाडौं विरुद्ध ट्राइबेकरमा ४–२ को नतिजा निकाल्दै ठडराई समाजले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरे । पहिलो खेलमा लाँलीगुराँस भुजुङका लागि खेलेको ४२ औ मिनेटमा अनिश महर्जनले खाता खोले । दोस्रो हाफको दोस्रो मिनेटमै सातदोवाटोका लागि अमन लामाले बरबरी गोल गरे । दोस्रो हापको ३५ औं मिनेटमा लालीगुराँसका लागि जर्सी नंं ९ का अजायी मिर्डिन कयोडले निर्णायक गोल गरी टीमलाई क्वार्टर फाइनल प्रवेशमात्र गराएनन्, उत्कृष्ट प्रदर्शन गरेबापत म्यान अफ दि म्याच घोषित भइ नगद १० हजार रुपैयाँ पुरस्कार हात पारे ।
सोमबारको दोस्रो खेल समाजकल्याण काठमाडौं र ठडराई समाज बेसीशहरबीचको खेल गोलरहित बराबरीमा रोकिएपछि ट्राइब्रेकरमा गयो । ट्राइबेकरमा समाजकल्याणसंग ४–२ को नतिजा निकाल्दै ठडाराई समाज दिहिथोकले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो । खेलमा ठडाराई समाजका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ दि म्याच घोषित भई १० हजार रुपैया पुरस्कार जिते ।
आइतबारको पहिलो खेलमा भानु युनाइटेड काठमाडौंलाई १–० ले पराजित गर्दै एनआरटी काठमाडौंले क्वार्टर फाइनल यात्रा तय ग¥यो । एनआरटीका लागि खेलको ११ औं मिनेटमा चेतन चौधरीले एकमात्र गोल गरी टीमलाई अघि बढाउँदै म्यानअफ दि म्याच घेषित भए । दोस्रो खेलमा लमजुङ मस्र्याङदी युथ क्लवले सूर्यपुर चितवनलाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान बनायो । लमजुङ मस्र्याङदीका लागि समीर तामाङले पहिलो हाफको अन्त्यमा गोल गर्दै खाता खोलेकामा दोस्रो हापको २० औं मिनेटमा एरोन थापाले थप एक गोल गर्दै मस्र्याङदीको जीत सुनिश्चित गरे । प्रतियोगितामा लमजुङ मस्र्याङ्दीका समीर तामाङ म्यान अफ दि म्याच घोषित भई १० हजार पुरस्कार जिते ।
मंगलबार ल्होसार विशेष कार्यक्रम गरिने भएकाले एक खेलमात्र खेलाइने आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ । मंगलबारको खेलमा लाङदी देवी नाल्मा र चित्लाङ फुटबल क्लव भिड्नेछन् ।
शनिबार सहजी रंगशालामा आयोजित भब्य कार्यक्रमबीच सहजी रंगशालामा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले सुन्दरबजार फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरी क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगिताको विजेताले १२ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र तथा उपविजेताले नगद ६ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछन् ।
खबरकुञ्ज