पोखरा, भदौ १७ गते । केन्द्रमा कांग्रेस एमाले गठबन्धन बनेको दुई महिनापछि गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भइ मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार नेकपा एमालेका ४ जना मन्त्रीको नियुक्तिसंगै प्रदेश मन्त्रीमण्डलले पूर्णता पाएको हो ।
नेकपा एमालेबाट मन्त्री चयन भएका पद्मा जिसी, प्रकाशबहादुर केसी, कृष्ण पाठक र मित्रलाल बस्यालले सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टसंग पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवलपुरकी जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी, प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, बागलुङका पाठकले स्वास्थ्य र पर्वतका बस्यालले उद्योग तथा पर्यटन र कास्कीका मन्त्रीका रुपमा शपथ लिएका हुन् ।
मुख्यमन्त्री सृुरेन्द्रराज पाण्डे नेतृत्वमा यसअघि ७ सदस्यी रहेको मन्त्रीमण्डल अहिले ९ सदस्यीय भएको छ । हिजो दुःख परेका बेला साथ दिएका स्वतन्त्र सांसद दिपक मनाङे र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई हटाउन एमालेले दबाब दिए पनि मुख्यमन्त्री पाण्डेले दुवैलाई हटाउन अस्वीकार गरे । दुवैजनालाई मन्त्रीमण्डलमा सहभागी गराउन उनले मन्त्रालय फुटाए ।
पाण्डेले यसअघि भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रहेका दिपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्री बनाएका छन् । उद्योग पर्यटन र वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाइएको छ ।
गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिला मन्त्रीमा डा. टकराज गुरुङ र समाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा यथावत छन् ।
खबरकुञ्ज