त्रिवेणी कप फुटबलः आयाेजक त्रिवेणीसंगै बीवाइसी भाेटेओडार सेमीफाइनलमा

खबरकुञ्ज

बेसीशहर, पुस १८ । आयोजक त्रिवेणी युवा क्लबसंगै भोटेओडारको बुद्ध युवा क्लब (बिवाइसी) बेसीशहरमा पुस १२ गतेदेखि जारी ३२ औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।

बिहीबार भएको अन्तिम क्वाटर फाइनलमा बीवाइसीले नेपाल आर्मीको त्रिभुवन क्लवलाई १–० गोलअन्तरले पराजित गरी अन्तिम ४ मा आफ्नो स्थान बनाउन सफल भयो । बिवाइसीका लागि खेलको १५ औं मिनेटमा सन्त गुरुङले निर्णायक गोल गरेका थिए ।

घरेलु दर्शकले खचाखच भरिएकोे त्रिवेणी रंगशालामा दर्शकको भरपुर साथ र समर्थन पाएको वीवाइसीले अन्तिमसम्मै खेललाई नियन्त्रणमा राख्न सफल भयो । उपाधिको दावेदार मानिएको आर्मीका खेलाडीले राम्रो खेल प्रदर्शन गरे पनि  गोल भने गर्न सकेनन् ।

खेलमा बिवाइसीका विदेशी खेलाडी इम्यानुयलले म्यान अफ दि म्याचको उपाधि सहित नगद ५ हजार प्राप्त गरे ।


यस अघि भएको तेस्रो क्वार्टर फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लव बेसीशहरले अभिषेक चर्च रजहरविरुद्ध ६–० को फराकिलो जीत निकाल्यो । खेलको मध्यान्तर हुनु केही मिनेट अघिसम्म दुवै टीमले गोलरहित बराबरी खेलेकामा ४० औं मिनेटमा त्रिवेणीका लागि मिलन राईले गोलको खाता खोलेका थिए ।खेलमा त्रिवेणीका खेलाडीले रजहर विरुद्ध गोलको बर्षा गरे । खेल सकिँदासम्म त्रिवेणीको पक्षमा ६ गोल पुगि सकेको थियो । 

खेलमा सुनिल खड्का र रामचन्द्र वजीले २–२ गोल गरे । अर्को गोल निशान लिम्बुले थपेका थिए । खेलमा सुनिल खड्काले म्यान अफ दि म्याच घोषित भइ ५ हजार नगद जिते ।

प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न क्वार्टर फाइनल खेलबाट विभागीय टीम एपिएफ र टोखा भगवती क्लव सेमीफाइनलमा प्रबेश गरि सकेका छन् ।

प्रतियोगिताको सेमीफाइनल खेल शुक्रबार हुनेछ । सेमीफाइनल अन्तर्गत भोलिको पहिलो खेल आयोजक त्रिवेणी युवा क्लव र विभागीय टीम एपिएफ क्लवबीच र दोस्रो खेल बीवाइसी भोटेओडार विरुद्ध टोखा भगवती क्लबबीच हुने छ ।

प्रतिक्रिया