लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध बेसीशहरमा सचेतना कार्यक्रम

बेसीशहर । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा साेमबार लमजुङ सदरमुकाम बेसीशहरमा सचेतनामूलक कार्यक्रम गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म लमजुङको आयोजना र स्वास्थ्य कार्यालय र सामाजिक विकास कार्यालय, लमजुङको समन्वयमा कार्यक्रम गरिएको हो । 


लागूऔषध दुरुपयोग तथा ओसारपसारमा सचेतना जगाउन बेसीशहरमा प्रभातफेरीसहितकाे सचेतनामूलक कार्यक्रम गरिएकाे हाे । बेसीशहरको मनाङे चौताराबाट सुरु भएको प्रभातफेरी फूलबारी चोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । लागूऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित निकालिएको प्रभातफेरीमा राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी, विद्यार्थी, स्थानीय बुद्धिजीवि, आमा समुहको सहभागिता थियो । 

 

लागुऔषध दुरुपयोग विरुद्धको एक्यबद्धताः व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता भन्ने नारा सहित मनाईएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यो व्यक्ति मात्र नभइ समाज विरुद्धको अपराध भएकाले यसको नियन्त्रणका लागि सवैको सहयोग, समन्वय आवश्यक रहेको बताए । उनले लागू औषधको विरुद्धमा व्यक्ति, समुदाय, नागरिक समाज, राष्ट्रसेवक सवै एक भई लाग्नुपर्ने बताए ।


साे अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले लमजुङमा पछिल्लो समयमा लागूऔषध सम्बन्धि मुद्धा बढ्दै गएको र यसका प्रयोग निरुत्साहित गर्नका लागि सचेतनामूलक कार्यक्रम संचालन गर्ने र दुर्ब्यसनीहरूलाइ पक्राउ गरी सुधार गृह पठाउने लगायतका कार्य गरिएको जानकारी दिए ।


कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेश आचार्यले लागुऔषधले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै समग्रमा असर गर्ने भएकाले यसको प्रयोग तथा विक्री वितरणमा राज्यले कडा नीति लिनुपर्नेमा जाेड दिए । वेसीशहर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहोराले लागूऔषधले मानिसको शारिरीक, मानसिक स्वास्थ्यमा गम्भिर असर पार्ने भएकाले विधालय तहबाटै यससम्बन्धी सचेतना फैलाउनु पर्ने बताए । 

प्रतिक्रिया