सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ

काठमाडौं, चैत्र २ गते। नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा जाेडिएका अखिल क्रान्तिकारीका महासचिव तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) का छोरा दीपेश पुनलाइ पक्राउ गरेकाे छ । 

गत साउन २ मा त्रिभुवन बिमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएकाे ६० किलाे सुनका सम्बन्धमा गरिएकाे जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाइ बुझाएकाे प्रतिवेदनका आधारमा पुनलाइ प्रहरीले पक्राउ गरेकाे हाे । प्रतिवेदन अध्ययन गरेपछि गृहमन्त्री लामिछानेले प्रतिवेदनले औल्याएका दाेषीलाइ पक्राउ गर्न प्रहरीलाइ निर्देशन दिएका थिए ।

त्यतिबेला सुनकाण्डका नायक भनिएका दावा छिरिङसंग दिपेश पुनकाे उठबस र सम्बन्ध देखिए पनि सीआईबीले पुनमाथि अनुसन्धान नगरेकाे जाँचबुझ आयाेगले निष्कर्ष निकालेकाे बताइन्छ ।

सुनसम्बन्धी जाँचबुझ आयाेग तत्कालीन संसदकाे प्रमुख प्रतिपक्ष नेकपा एमालेकाे जाेडबलमा गठन भएकाे थियाे । गत असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले दुई वटा सुन प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गरेको थियो। 

आयोगले ब्रेक शुमार्फत् भित्रिएको ६० किलो सुन र भेप (विद्युतीय चुराेट) मार्फत् भित्रिएको ९ किलो सुन सम्बन्धी अनुसन्धान तथा अध्ययन गरेको थियो। आयोगले पेश गरेकाे प्रतिवेदन १३ परिच्छेद र ४८५ पृष्ठको छ। 

प्रतिक्रिया