नमुना सामुदायिक अस्पतालले दियाे झण्डै २३ हजार बिरामीलाइ निःशुल्क स्वास्थ्य सेवा

मिलन शर्मा दनाई

बेसीशहर, पुस १७ । लमजुङको सुन्दरबजारमा रहेको नमूना सामूदायिक अस्पतालले तीन बर्षको अबधिमा २२ हजार ८ सय ५६ जना विरामीलाई निःशुल्क सेवा दिएको छ । यस अबधिमा अस्प्तालले  १ करोड  ४ लाख ८९ हजार ५८१ रुपैयाँ बराबरको निःशुल्क सेवा दिएको हो ।

सुन्दरबजारमा सेवा शुरु गरेपछि अस्पतालले विगत तीन बर्षको अबधिमा ५ हजार ८ सय ८४ जनालाई शल्यक्रिया सेवा दिएको छ । २०२३ को जनवरीदेखि नमुना सामुदायिक अस्पतालको ब्यवस्थापन मानव विकास तथा सामुदायिक सेवाले सम्हालेको थियो । अस्पताल सञ्चालनको तीन बर्षको सेवाका बारेमा अस्पतालले पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गरेको हो ।

अस्पतालमा आयोजित एक बिशेष कार्यक्रमबीच अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले विगत तीन बर्षमा अस्पतालको भौतिक, आर्थिक र सेवा प्रवाहका सम्बन्धमा जानकारी गराएका हुन् ।

बिगत तीन बर्षको अबधिमा सामान्य उपचारका लागि सदरमुकाम बेसीशहर, काठमाडौं, पोखरा तथा चितवन जानु पर्ने बाध्यताका लमजुङको दक्षिणी क्षेत्र, तनहूँको उत्तरी क्षेत्र र गोरखाको पश्चिमी क्षेत्रका बासीन्दाका लागि समेत अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेपछि  यो अस्पताल भरोसाको केन्द्र बन्न पुगेको छ ।

नमुना अस्पतालले सक्नेलाई सशुल्क र उपचार गराउन नसक्ने असायहय तथा गरीबहरुका लागि निःशुल्क सेवा दिदैं आएको छ । स्थापनाको तीन बर्षको अबधिमा अस्पतालले ४८ हजार ८ सय ५० जनालाई उपचार सेवा दिएको छ । तीमध्ये २ हजार ३२० जनाले अन्तरंग सेवा र ४८ हजार ८ सय ५०  विरामीहरुले बहिरंग सेवा पाएका अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिए ।

विगत तीन बर्षको अबधिमा अस्पतालमा  ९ हजार ५ सय ३५ ले दन्त सेवा, ३ सय ७४ जनाले आँखा उपचार सेवा, ६४ जनाले खोप सेवा र ५३ जनाले प्रसुती सेवा, लिएका छन् । यस अबधिमा अस्पतालबाट ३ सय ३९ जनाले रेविज खोप पाए भने सर्पदंशका ६५ जनाको उपचार भएको छ । अस्पतालमा बिष सेवन  गरेका १५ जनाको उपचार भएको छ । बिषक्त खाना खाएर बिरमी परेका ५९ जनाको उपचार पनि अस्प्तालले गरेको छ ।

तीन बर्षको अबधिमा अस्प्तालमा २ हजार १ सय १८ जना बिरामीलाई मनोविमर्श सेवा दिएको छ । गत बर्षबाट फिजियोथेरापि सेवा सुरु गरेको अस्पतालले अहिलेसम्म २ हजार ३ सय ३३ लाई सेवा दिएको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिए ।

अहिले उक्त अस्पतालमा आकस्मिक, अन्तरंग, बहिरंग सेवा सगै प्रयोगशाला सेवा, एक्सेर, भिडियो एक्सरे, इसिजी, पिएफटि,शल्यक्रिया, फिजियोथेरापी, प्रसुति,  दन्त, आँखा सउपचार सेवाका साथै खोप सेवा र मनोविर्मश लगायतका सेवा सञ्चालन भइरहेको छ । गण्डकी प्रदेश सरकारबाट २५ शैयाको स्वीकृति प्राप्त भएको अस्पताललाई निकट भविष्यमै ५० शैयाको बनाउन पहल भइरहेको अस्पताल प्रमुख श्रेष्ठले बताए  । 

अस्पतालले विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य सचेतनाका कार्यक्रम, विपद् व्यवस्थापन पूर्व तयारी तालिम तथा प्राथामिक उपचार सम्वन्धि प्रशिक्षणका साथै विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।

आगामी दिनमा बिशेषज्ञ सेवाहरु थप गर्दै अधिकतम बिरामीहरु लाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योजना अस्पतालले बनाएको छ । अस्पताललाई आत्मनिर्भर बनाउने, समुदाय स्वास्थ्य कार्येक्रम, निःशुल्क स्वास्थ्य शिबिर, बिद्यालय स्वास्थ्य, आमा–बा  समूह, युथ क्लब, आश्रमहरुमा स्वास्थ्य सेवा प्रदान गर्ने, कर्मचारीहरुको लागि तालिम तथा शिप विकास, नसर्ने रोग सम्बन्धि समुदाय तथा बिद्यालयहरुमा सचेतना कार्येक्रम, स्क्रिनिङ कार्येक्रम, अस्पतालमा  निशुल्क स्वास्थ्य परिक्षण कार्येक्रम संचालन गर्ने, अस्पतालमा बेसिक लाइफ सपोर्ट, प्राथमिक उपचार, विपद पूर्व तयारी सम्बन्धि समुदाय, प्रहरी तथा बिद्यालयहरुमा  तालिम प्रदान गर्ने, आधुनिक आवश्यक मेडिकल उपकरणहरु खरिद गर्ने र बी ग्रेडको एम्बुलेन्स खरिद गरी सञ्चालन गनेृ योजना अस्पतालले सार्वजनिक गरेको छ । 

अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका विभागीय प्रमुखहरुले अस्पतालमा सेवा प्रवाहको अनुभव र सफलताको कथा सुनाएका थिए । 


प्रतिक्रिया