बेसीशहर, माघ १५ गते । नेपाली कांग्रेसले सञ्चालन गर्न लागेकोे समुदायमा कांग्रेस अभियान अन्तर्गत यही माघ १८ गते लमजुङमा बृहत भेला हुने भएको छ ।
नेपाली कांग्रेस लमजुङले बृहत भेला बाेलाएर समुदायमा कांग्रेस अभियान माघ १८ गतेबाट शुभारम्भ गर्न लागेकाे हाे । यसका लागि जिल्ला कार्य समिति लमजुङले साेही दिन बेसीशहरमा बृहत कार्यक्रमको आयोजना गरेको हाे ।
यो अभियान वडा तहसम्म सञ्चालन हुने नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले बताए । यस अभियानका लागि पार्टीले केन्द्रीय प्रतिनिधिको रुपमा केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवलाई खटाएको छ । कांग्रेसको केन्द्रीय समितिले विभिन्न जिल्लामा केन्द्रीय पदाधिकारीलाई नै पठाएर अभियान गर्ने तयारी गरे अनुसार यादवले लमजुङसहित तनहूँ, गोरखा, पर्वत र नवलपुरको जिम्मेवारी पाएका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिले ७७ जिल्लामै प्रतिनिधि खटाएको जानकारी दिएका छन् ।
यस अभियानका क्रममा पार्टीले साना-ठूला सभा तथा संगठन सुदृढीकरणलगायत काम गर्ने बताइएको छ ।
नेपाली कांग्रेस लमजुङले अभियान शुभारम्भका क्रममा पार्टी जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरु, पार्टीका पूर्व सभापतिहरु, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु, सल्लाहकार, स्थानीय तहका प्रमुख उपप्रमुखहरु, भातृसंगठनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिका पदाधिकारी एवं सदस्यहरु तथा भातृसंस्था एवं सुभेच्छुक संस्थाका प्रमुखहरुलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरेको सचिव अधिकारीले जानकारी दिए ।
खबरकुञ्ज