उद्यम गर्न चाहने राइनासका नागरिकले नेपाल बैंकबाट बिना धिताे सहुलियत ऋण पाउने

बेसीशहर । लमजुङको राईनास नगरपालिकाले उद्यम गर्न चाहने नगरबासीको लागि नेपाल बैंक लिमिटेड मार्फत ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएकाे छ ।

राईनास नगर क्षेत्रभित्र कृषि तथा पशुपक्षीजन्य ब्यवसाय प्रबर्द्धन तथा मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका २०८० अन्तर्गत उद्यमशील बन्न चाहनेहरुका लागि नगरपालिकाले बैंक  ग्यारेण्टीका रुपमा ७० लाखकाे कोष खडा गरेको हो । नगरपालिकाले यो कोष नेपाल बैंक लिमिटेडमा राख्ने छ र नगरपालिकाको सिफारिसमा कोषको तीन गुना रकम बैंकले उद्यमशील हुन चाहने राइनासका नगरबासीहरुलाई लगानी गर्न सम्झौता भएको छ । बैंकले योग्यता पुगेका उद्यमीहरुलाई २ करोड १० लाखसम्म ऋण प्रबाह गर्ने सम्झाैता भएकाे हाे । 

नगरपालिकाले विदेशबाट फर्केका युवाहरुले विदेशमा सिकेको सीप र ब्यवसायीक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी ब्यवसायीकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता भएका तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि उनीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गराउने लक्ष्य राखे अनुसार उद्यमशीलता विकास तथा वित्तिय पहुँच बढाउने उद्देश्यले नेपाल बैंकसंग सम्झौता गरिएको बताएको छ ।



राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलका अनुसार उद्यमी बन्न नगरपालिकामा आवेदन दिनेहरुमध्ये छनोट भएका उद्यमी एवं ब्यवसायीलाई नगरपालिकाले सुहलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्ने छ । यस अघि उद्यमी एब ब्यवसायी तयार गर्न आवश्यक तालिम तथा परामर्श कार्यको ब्यवस्था नगरपालिकाले गर्ने उनले बताए ।

कर्जाका लागि नगरपालिकाले गरेको सिफारिसका आधारमा स्वरोजगार बन्न चाहने युवाहरुलाई नेपाल बैंक लिमिटेडले विना धितो ऋण उपलब्ध गराउने छ ।

यसका लागि नगरपालिकाले छिटै कार्यविधि तयार गर्ने र आगामी असोजदेखि कार्यक्रम शुरु गरिने सुयलले बताए । उनका अनुसार  कार्यक्रम अन्तर्गत छनोटमा परेका ब्यक्ति वा समुहलाई बैंकले २ लाखसम्म ऋण बिना धितो दिने छ ।

सम्झौता अनुसार यस कार्यक्रममा सहभागी भइ सहुलियत कर्जा लिने ब्यक्ति, फर्म वा कम्पनीले बैंकलाई नियमित भुक्तानी नगरेमा नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने र अन्तिम समयसम्म ऋण लिएर नतिर्ने ऋणीको साँवा ब्याज नगरपालिकाले राखेको जमानतबाट कट्टा गरिने छ । साथै बैंकबाट लिएको सहुलियत कर्जाको सदुपयोग भए नभएको पनि अनुगमन गरिने सम्झौतामा उल्लेख छ ।

नेपाल बैंक लिमिटेडकाे काठमाडाैं धर्मपथस्थित प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरूङ तथा प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज सुयलले सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया