लमजुङ महाेत्सव २०८० चैत २३ गतेदेखि बेसीशहरमा शुरू हुने

बेसीशहर फागुन २४ गते । सुस्ताएकाे ब्यापार र पर्यटन ब्यवसायलाइ चलायमान बनाउन भन्दै लमजुङ उद्याेग बाणिज्य संघले यही चैत अन्तिम साता बेसीशहरमा लमजुङ महाेत्सव २०८० आयोजना गर्ने भएकाे छ ।

बेसीशहरकाे सहजी खेलमैदानमा चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म ८ औं लमजुङ महोत्सव २०८० आयोजना हुन लागेकाे बारे लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए । बिहीबार संघमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले लमजुङकाे आर्थिक विकासमा टेवा पुर्याउन र कला संस्कृतिकाे जगेर्ना गर्न महाेत्सव गर्न लागिएकाे जानकारी दिए ।

लमजुङकाे जलविद्युतलगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने,  पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन रआर्थिक मन्दिको प्रभावले सुस्ताएको ब्यापार ब्यवसाय र पर्यटनलाई पुरानै अवस्थामा फर्काउन महोत्सव सहायक सिद्ध हुने अपेक्षा गरिएकाे साे अवसरमा उनले बताए ।

पत्रकार सम्मेलनमा महोत्सवलाई सभ्य र भव्य बनाउन संघका अध्यक्ष भरत कुमार श्रेष्ठकाे संयाेजकत्वमा ३ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र सल्लाहकार, कार्य सम्पादन, संयोजन समिति र विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिइयाे ।

महोत्सवमार्फत जिल्लामा सञ्चालित होमस्टे, परम्परागत सीप र हस्तकलाकाे प्रबर्द्धन, कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेना गर्ने लक्ष्य लिइएकाे छ । २ सय वटा व्यवसायिक स्टल राखिने महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकाे संघका महासचिव बिपिन श्रेष्ठले बताए । 

महोत्सवमा विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, परम्परागत खाना महोत्सव,  राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति, लाेक दाेहाेरी, नाटक, कृषि, पुष्प तथा जडिवुटी प्रदर्शनी, फोटो तथा बृत्तचित्र प्रदर्शनी,  वाल उद्यान लगायतका आकर्षण रहने उनले बताए ।

प्रतिक्रिया