बेसीशहर । चीनमा भइरहेकाे १९ औं एशीयाडमा नेपाली क्रिकेटरहरूले कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका बेला लमजुङकाे एक क्याम्पसका प्रमुखले आफ्नै कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।
भाग्यले साथ दियाे भने गाेरू पनि ब्याउँछ, डाेकाेमा पनि दूध अड्छ भन्ने नेपाली उखान छ । लमजुङकाे बेसीशहरकाे मर्स्याङदी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापाकाे हकमा याे उखान चरितार्थ भएकाे हाे । बिगत ३० बर्षदेखि मर्स्याङ्दी बहुमुखी क्याम्पसको प्रमुखमा रहेका उनै हरिबाबु थापा फेरि अबकाे चारबर्षका लागि क्याम्पस प्रमुख चयन भएसंगै उखान चरितार्थ मात्र गरेका छैनन्, नयाँ कीर्तीमान समेत बनाएका छन् ।
नेपालमा मात्रै हाेइन, बिश्वमै एउटै ब्यक्ति यति लामाे अबधिसम्म कुनै क्याम्पसकाे प्रमुख भएकाे उदाहरण सायदै भेटिएला । तर मर्स्याङदी बहुमुखी क्याम्पसमा हरिबाबु थापा बिगत ३० बर्षदेखि लगातार क्याम्पस प्रमुख बनिरहेका मात्र छैनन्, अबकाे ४ बर्षका लागि पनि क्याम्पस प्रमुख चयन भएका छन् । गिनिज बुक अफ वर्ल्ड रिकर्डसमा जाने हाे भने थापाकाे याे बिश्वस्तरीय कीर्तिमान बन्न सक्छ ।
बुधवार बसेको क्याम्पसको सञ्चालक समितिको बैठकबाट थापा फेरि आठाैं कार्यकालकाे लागि क्याम्पस प्रमुख चयन भएका हुन् । यस अघिका कार्यकालहरूमा निर्विवाद क्याम्पस प्रमुख रहँदै आएका थापालाइ यस पटक भने साेही क्याम्पसकै सहायक क्याम्पस प्रमुख डा. पदम रावतले चुनाैति दिएका थिए ।
भर्खरै विद्याबारिधी गरेका डा. राउतले थापालाइ चुनाैति दिएपछि सञ्चालक समितिकाे वैठकले सहजै निर्णय लिन सकेकाे थिएन । सञ्चालक समितिमा कसलाइ क्याम्पस प्रमुख बनाउने भन्ने बिवाद हुँदा अन्ततः मतदात नै भएकाे थियाे । २१ सदस्यीय क्याम्पस सञ्चालक समितिमध्ये १९ जना सहभागी वैठकमा मतदान हुँदा थापाले १० मत र रावतले ९ मत पाएका थिए । एक मतले बिजयी भएपछि थापा पुनः क्याम्पस प्रमुख चयन भएका हुन् ।
क्याम्पस प्रमुखका लागि सहप्राध्यापक शालीग्राम अधिकारीले पनि सञ्चालक समितिमा दरखास्त हालेका थिए । तर उनकाे उमेदवारी फिर्ता भयाे ।
२०४९ सालमा मर्स्याङदी बहुमुखी क्याम्पस बेसीशहरमा उपप्राध्यापककाे रूपमा सेवा प्रवेश गरेका थापा २०५० सालदेखि निरन्तर क्याम्पस प्रमुख छन् ।
मिलन शर्मा दनाई