ऐतिहासिक तथा पुरातात्विक महत्वको पुरानोकोट गढीको मर्मत शुरु

खबरकुञ्ज

बेसीशहर, फागुन ५ गते । चौविसे राज्य कालमा बनेको लमजुङको पुरानोकोट स्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको पुरानोकोट गढीको मर्मत शुरु भएको छ ।

नेपाली सेनाको चण्डीप्रसाद गणले चालु आर्थिक वर्षको जनहित कार्यक्रम अन्तर्गत बेसीशहर नगरपालिका वडा नंं ४ मा  पर्ने ऐतिहासिक एवं पुरातात्विक महत्वको सो गढीको मर्मत कार्य शुरु गरेको हो ।

पुरतत्व विभागबाट प्राप्त स्टिमेटको आधारमा नेपाली सेनाले जीर्ण गढीको मर्मत थालेको हो । यसका लागि नेपाली सेनाको पश्चिम पृतना मुख्यालय पोखराबाट प्राप्त आर्थिक स्टिमेटको आधारमा पुरानो र जीर्र्ण गढी मर्मत कार्य अघि बढेको चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्रकुमार कार्कीले जानकारी दिए ।


गणपति कार्कीका अनुसार पुरानोकोट गढी मर्मतका लागि नेपाली सेनाको १३ जनाको टोलि खटिएको र यस टोलीले गत माघ २८ गतेदेखि गढी मर्मतको काम गरिरहेको छ ।

चालु आ.ब. २०८१÷८२ को स्वीकृत जनहहित कार्मक्रम अन्तर्गत ऐतिहासिक महत्वको पुरानोकोट गढीको मर्मत संभार कार्यको थालनी गरिएको र गढीको सरसफाई गरी नयाँ सामाग्रीको प्रयोग गरेर पहिलाकै आवरणको संरचना तयार पार्न लागिएको गणपति कार्कीले बताए । 


ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका दरबार, गढी, किल्ला, पदमार्गहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्य सहित नेपाली सेनाले जिम्मेवारी क्षेत्रमा रहेका गढी किल्लाहरुको मर्मत संभार गर्ने कार्यक्रम तय गरे अनुसार गणको जनशक्तिबाट पुरानोकोट गढीको मर्मत कार्य थालिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने कार्कीले जानकारी दिए ।

सेनाले ऐतिहासिक दरबार, गढी, किल्लाहरुको दस्तावेज संकलन, अभिलेखिकरण, संरक्षण र संवद्र्धनको लागि मासिक रुपमा विशेष कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । 


पुरानोकोट गढी तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहले १६ ओं सताब्दीमा बनाएका हुन् । सामरिक महत्वको यो गढी तत्कालीन लमजुङ राज्य गाउँशहरको पश्चिमतर्फको प्रमुख सुरक्षा स्थल मानिन्छ । हाल यो गढी र भग्नावशेषको रुपमा रहेको पुरानोकोट दरबारको बीचमा बेसीशहर नगरपालिकाले पर्यटकीय महत्वको स्तुपा निर्माण गरेको छ ।

प्रतिक्रिया